03/05/2026
घार्मि सहकारी संस्थाको आयोजनामा अवलोकन तथा अध्ययन भ्रमण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका संयोजक लक्ष्मी अधिकारी नेतृत्वमा टोलीले पोखराबाट प्रस्थान गरी लुम्ले कृषि अनुसन्धान केन्द्र, सितल गुफा, बिरेथाँटी, लान्द्रुक र घान्द्रुक लगायतका स्थानहरूको अवलोकन गरेको थियो।
भ्रमणका क्रममा विशेषगरी कृषि अनुसन्धान, ग्रामीण पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा गहन छलफल गरिएको संयोजक अधिकारीले जानकारी दिनुभयो। सहभागीहरूले लुम्ले कृषि अनुसन्धान केन्द्रमा भइरहेको नवीन कृषि प्रविधि, उत्पादन प्रणाली र किसानमैत्री अभ्यासबारे जानकारी लिएका थिए।
त्यसैगरी, भ्रमण टोलीले कास्कीका पर्यटकीय क्षेत्रहरूमा पुगेर प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा होमस्टे व्यवस्थापनको अवस्थाबारे अवलोकन गरेको थियो। अध्यक्ष पोषराज पौडेलले यस किसिमको अध्ययन भ्रमणले सहकारीका सदस्यहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने तथा स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा सहभागीहरूबीच पर्यटन विकास, स्थानीय स्रोत–साधनको उपयोग र सहकारीमार्फत आयआर्जन वृद्धिका उपायहरूबारे समेत अन्तरक्रिया गरिएको थियो। अवलोकन भ्रमणले सहकारीका भावी योजनाहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।