FNCCI Commodity Council

FNCCI Commodity Council Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FNCCI Commodity Council, Sahid Shukra Marg, Teku, Kathmandu.

महासंघका अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेटवार्ता - साउदीसँग आर्थिक सम्बन्ध विस्तार गर्न महासंघको जोड https://fncci...
27/08/2026

महासंघका अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेटवार्ता - साउदीसँग आर्थिक सम्बन्ध विस्तार गर्न महासंघको जोड
https://fncci.org/news/detail.php?i=4536

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मिंखर (Fahd bin Mohammed bin Minkhr) बीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल–साउदी आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, लगानी, पर्यटन तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

यस्तै नेपाल–साउदी व्यापार तथा लगानी सहकार्यलाई थप विस्तार गर्ने, निजी क्षेत्रबीच सम्बन्ध बढाउने तथा दुई देशबीच आर्थिक अवसर पहिचान गरी अघि बढ्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

भेटवार्तामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको परराष्ट्र सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक कूटनीतिले नेपाली व्यवसायका लागि नयाँ बजार खोल्ने, विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने गरी स्पष्ट परिणाम दिनुपर्ने उहाँको जोड थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, उत्पादनमूलक उद्योग तथा पूर्वाधारलगायतका क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको उल्लेख गर्दै गुणस्तरीय विदेशी लगानी आकर्षित गर्न स्थिर र पूर्वानुमानयोग्य नीति, छिटो स्वीकृति प्रक्रिया तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनु भयो ।

नेपालले परम्परागत वस्तुको निर्यातसँगै विद्युत् तथा सूचना प्रविधि सेवा निर्यातको सम्भावनालाई समेत उपयोग गर्नुपर्ने भन्दै उनले चिया, कफी, जडीबुटी, हस्तकला लगायत नेपाली उत्पादनलाई साउदीमा निर्यात गर्न सकिने धारणा राख्नु भयो ।

भेटमा साउदी राजदूत फहद बिन मोहम्मद बिन मिंखरले नेपालसँग आर्थिक सम्बन्ध थप विस्तार गर्न साउदी अरब इच्छुक रहेको बताउनु भयो । उहाँले नेपालको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा साउदी लगानी तथा सहकार्यको सम्भावनाप्रति चासो व्यक्त गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन आवश्यक पहल गर्ने बताउनु भयो ।

राजदूत मिंखरले नेपाल र साउदी अरबबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तारका लागि छिट्टै हवाई सम्झौता हुन लागेको जानकारी दिँदै हवाई सम्पर्क विस्तारले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध थप विस्तार गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले सरकार, निजी क्षेत्र र कूटनीतिक संयन्त्रबीच प्रभावकारी सहकार्य भए नेपालले अन्तर्राष्ट्रिय बजार, लगानी र पर्यटनका नयाँ अवसर हासिल गर्न सक्ने बताउनुभयो ।

यस्तै महासंघ अध्यष श्रेष्ठले साउदी चेम्बरसंग साउदीका व्यवसायीहरु र बीटुबी सहकार्य बढाउन आवश्यक पहल गरिदिन रादुतसंग आग्रह गर्नु भयो । जवाफमा राजदूत मिंखरले सरकार–सरकार (जीटुजी) तथा व्यवसायी–व्यवसायी (बीटुबी) दुवै प्रकारको सम्बन्ध सदृढ गर्न आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

27/08/2026
विनाशकारी बाढीबाट क्षति, उच्च जोखिम र उद्धार तथा राहत कार्यमा जुट्न अपिल https://fncci.org/news/detail.php?i=4534मिति २०...
26/08/2026

विनाशकारी बाढीबाट क्षति, उच्च जोखिम र उद्धार तथा राहत कार्यमा जुट्न अपिल
https://fncci.org/news/detail.php?i=4534

मिति २०८३ भाद्र १० गते बुधवार तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुगेको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो चिन्ता व्यक्त गर्दछ ।

उक्त बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गर्दछ । सरकारी निकायबाट पृथ्वी राजमार्गसहित त्यस करिडोरका सडकहरूमा आवागमन रोक्न आग्रह गरिएको अवस्थामा महासंघ तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी–व्यवसायी, सर्वसाधारण तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन महासंघ हार्दिक अपिल गर्दछ ।


यस विपद्बाट भएको क्षतिको आधिकारिक विवरणहरु आउन बाँकी रहेतापनि प्रारम्भिक रिर्पोटहरुमा धेरै ठूलो क्षतिको अनुमान गर्न सकिन्छ । महासंघ विपदको यस अकल्पनीय घडिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्लजी अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्र गर्दछ । महासंघ यस विपद्मा क्षति ब्यहोर्न पुगेका सर्वसाधारण, स्वदेशी तथा विदेशी तीर्थयात्री, जनसमुदाय, उद्योगी व्यवसायीहरु सबैको साथ रहँदै विपदको व्यवस्थापनमा सबैले यथाशिघ्र संलग्न हुन अनुरोध गर्दछ । साथै महासंघ आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराउँदछ ।

विनाशकारी विपद्बाट सर्वसाधारणका घर, उद्योगी व्यवसायीहरुको पसल, निजी तथा सार्वजनिक सवारी साधन,मालवाहक सवारी साधन तथा भन्सार यार्डमा रहेका सावरी साधन पुल, जलविद्युतगुहरुका लगायतका भौतिक संरचनामा धेरै ठूलो क्षति पुगेकोमा चिन्ता व्यक्त गर्दै भविष्यमा गर्नु पर्ने पुनःस्थापनाको कार्यमा पनि महासंघ सदैव साथमा रहेको जानकारी गराउँदछ ।

विपद्को यस कठिन घडीमा नेपाल उद्योग वाणिज्य महासंघ मातहतका सम्पूर्ण जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत संघहरू तथा सम्पूर्ण उद्योगी–व्यवसायी महानुभावहरूलाई स्थानीय प्रशासन, सुरक्षा निकायहरुसंग आवश्यक समन्वय गरी तत्काल प्राथमिकताका साथ उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन हार्दिक अपिल गर्दछ ।

औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने महासंघ–केन्द्रको प्रतिबद्धताhttps://fncci.org/news/d...
26/08/2026

औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने महासंघ–केन्द्रको प्रतिबद्धता
https://fncci.org/news/detail.php?i=4533

नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले बीच मुलुकमा औद्योगिक सम्बन्ध सुदृढ बनाउने, लगानीको वातावरण सुधार गर्ने र रोजगारीका नयाँ अवसर विस्तार गर्ने विषयमा प्रतिवद्धता जनाएका छन् ।

महासंघको सचिवालयमा सम्पन्न दुवै पक्षका उच्चस्तरीय पदाधिकारीहरूको बैठकले दुई पक्षीय सम्बन्धलाई थप संस्थागत र परिणाममुखी बनाउने निर्णय गरेको हो । बैठकका क्रममा 'महासंघ–केन्द्र द्विपक्षीय समन्वय समिति सञ्चालनसम्बन्धी कार्यविधि' मा दुवै पक्षबीच सहमति कायम भई हस्ताक्षर तथा आदानप्रदान गरिएको छ । उक्त कार्यविधिले रोजगारदाता र ट्रेड युनियनबीच निरन्तर संवाद तथा सहकार्यलाई संस्थागत गर्ने र आपसी हितका विषयमा संयुक्त रूपमा काम गर्ने बलियो आधार तयार गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

बैठकमा महासंघका अध्यक्षले नेपालमा श्रम सम्बन्ध सुधारिँदै गएको र रोजगारदाता बलियो हुनुका साथै श्रमिक सुरक्षित हुने वातावरण क्रमशः निर्माण भइरहेको बताउनुभयो । सरकारले श्रम तथा रोजगारसम्बन्धी नीति र कानून बनाउँदा रोजगारदाता र श्रमिकलाई केवल साक्षीका रूपमा नराखी नीति निर्माण प्रक्रियामै अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, उमेर र पढाइसँगै काम गर्ने प्रणालीलाई प्रवर्धन गर्दा सीप विकास र उत्पादनशीलता अभिवृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले यो द्विपक्षीय मञ्च सामान्य छलफलमा मात्र सीमित नभई श्रम क्षेत्रका व्यावहारिक समस्या पहिचान र समाधान गर्ने प्रभावकारी थलो हुनुपर्ने बताउनुभयो । त्यस्तै, केन्द्रका निवर्तमान अध्यक्ष जगत सिखडाले रोजगारदाता र श्रमिक एकअर्काका परिपूरक भएकाले दुवै पक्षका समस्या समाधान गर्न दलगत तथा राजनीतिक सीमाभन्दा माथि उठेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले दुवै पक्षले औद्योगिक शान्ति, लगानीको अनुकूल वातावरण, रोजगारी संरक्षण तथा नयाँ रोजगारी सिर्जना र सामाजिक संवादलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डेले समन्वय समितिमार्फत दुवै पक्षका चुनौतीहरूको अध्ययन गरी साझा समाधान खोजिने उल्लेख गर्नुभयो ।

बैठकमा महासंघ उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, कोषध्यक्ष मनिषलाल प्रधान लगायतका पदाधिकारी तथा महासंघका केन्दीय सदस्य, रोजगारदाता परिषद्का प्रतिनिधिहरूले समन्वय समितिमार्फत आगामी दिनमा श्रम कानून संशोधन, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक र अनौपचारिक क्षेत्रको औपचारिकीकरणका विषयमा साझा धारणा निर्माण गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

यसैगरी बैठकले जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (AI), स्वचालन (Automation), गिग अर्थतन्त्र (Gig Economy) तथा ’भविष्यको काम’ (Future of Work) जस्ता आधुनिक चुनौतीहरूमा साझा रणनीति बनाएर सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र अन्य सरोकारवाला निकायहरूसँग संयुक्त रूपमा पहल गर्ने सहमति भएको छ ।

#नेउवामहासंघ

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छः अध्यक्ष श्रेष्ठ https://fncci.org/news/detail.php?i=4532नेपाल उद्योग वा...
25/08/2026

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छः अध्यक्ष श्रेष्ठ
https://fncci.org/news/detail.php?i=4532

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताउनु भएको छ । मंगलवार देखि काठमाण्डौंमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिनुभयो ।

तावरण नबनेसम्म आर्थिक समृद्धि सम्भव नभएको बताउनु भयो । “समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ । उहाँले भन्नु भयो , मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु । अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको छ । नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न सकेको छैन् ।”

अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको बताउनु भएको छ । उहाँले कतिपय उद्योग खुले पनि तर सरकारले ध्यान दिन नसक्दा उद्योगी व्यवसायीहरुका समस्या नबुझ्दा औदोगिक विकास हुन नसकेको धारणा राख्नुभयो ।
सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता व्यक्त गरेको भएतापनि बजेटका घोषणा अगाडि बढेन नसकेको, सो अनुसारका रणनीति नआएको उनको भनाइ छ ।

अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै उहाँले सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको तर यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट नभएको उहाँको गुनासो थियो । उहाँले १२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने सुझाव दिनुभयो ।

वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले सरकारलाई दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको धारणा राख्नुभयो । उहाँले अटोमोबाइल क्षेत्रका उद्योगहरूले भोगिरहेका समस्याका बारेमा सरकार मौन रहेको भन्दै उहाँले उद्योगीका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो ।

#अटोएक्स्पो

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाई - व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको...
22/08/2026

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाई - व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
https://fncci.org/news/detail.php?i=4528

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले आ–आफ्नो क्षेत्रका समस्या र सम्भावनालाई महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा उठाउन वस्तुगत संघहरूलाई आग्रह गर्नुभयो । “सबै वस्तुगत समितिका समस्याहरु महासंघका साझा समस्याहरु हुन् । महासंघ यी समसयाहरु सरकार संग राख्न र समाधानको लागि पहल गर्न सदैव तयार छ ।” उहाँले भन्नु भयो ।

अध्यक्षा श्रेष्ठले अहिले व्यवसायीहरु त्रसित अवस्थामा रहेको, व्यवसायिक वातावरण बिग्रिरहेको, बजारमा माग नभएको उल्लेख गर्दै अर्थतन्त्र चलायमान बनाउन व्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सरकासंग आग्रह गर्नु भयो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी बनाउन वस्तुगत संघहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले संघहरूले आफ्ना क्षेत्रका समस्या तथ्यसहित प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले वस्तुगत संघहरूका समस्या समाधानमा महासंघले सहजीकरणको भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रका साझा मुद्दामा एकीकृत आवाज बनाउनुपर्नेमा जोड दिनुभयो ।

वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत संघहरू महासंघका महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै संघहरूबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उद्योग व्यवसायका साझा समस्या पहिचान गरी समाधानका लागि महासंघमार्फत पहल गरिने बताउनुभयो ।

महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले उद्योग व्यवसायको विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र प्रतिस्पर्धी बजार आवश्यक रहेको बताउनुभयो । उहाँले वस्तुगत संघहरूले आफ्ना क्षेत्रका समस्या र सुधारका विषय महासंघसँग निरन्तर समन्वय गर्नुपर्ने धारणा राख्नुभयो ।

वस्तुगत परिषद्का उपसभापति भक्तबहादुर हमालले धन्यवाद ज्ञापन गर्दै वस्तुगत संघहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लब अधिकारी, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष बलराम गुरुङ, नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राजभण्डारी, नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवर, नेपाल ईटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद, नेपाल होस्टल एशोसिएसनका अध्यक्ष नरेन्द्रबहादुर बोहोरा, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष भीमबहादुर गोले तामाङ तथा रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंले आ–आफ्नो क्षेत्रका समस्या, चुनौती तथा सम्भावनाबारे धारणा राख्नुभएको थियो ।

उहाँहरूले औषधी उद्योग, गलैंचा तथा निर्यात, कुरियर सेवा, डेरी, घरजग्गा तथा आवास, इँटा उद्योग, होस्टल व्यवसाय, पर्यटक यातायात र रुद्राक्ष व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सरकार र महासंघबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघका अध्यक्ष, वस्तुगत परिषद्का सभापति तथा पदाधिकारीहरूले खादा लगाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

#नेउवामहासंघ #उद्योगवाणिज्य

महिला उद्यमीलाई एआई सम्बन्धी आधारभूत तालिम https://fncci.org/news/detail.php?i=4526नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको...
21/08/2026

महिला उद्यमीलाई एआई सम्बन्धी आधारभूत तालिम
https://fncci.org/news/detail.php?i=4526

नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको महिला उद्यमी विकास समितिले महिला उद्यमीहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आधारभूत तालिम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट आयोजित तालिममा देशभरबाट ९० भन्दा बढी महिला उद्यमीको सहभागिता रहेको थियो ।

महिला उद्यमीहरूलाई पछिल्लो प्रविधिसँग परिचित गराउँदै व्यवसाय सञ्चालन, व्यवस्थापन, बजारीकरण तथा व्यवसाय विस्तारमा एआईको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । भूगोलपार्क एआई सोलुसन्सको सहकार्यमा सम्पन्न तालिमका क्रममा सहभागीहरूलाई एआईका आधारभूत अवधारणा, व्यवसायमा एआईको प्रयोग, सामग्री निर्माण, डिजिटल बजारीकरण, व्यवसायिक सूचना संकलन तथा अन्य व्यावहारिक क्षेत्रमा एआईको उपयोगबारे जानकारी र अभ्यास गराइएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले एआईलगायत नवीन प्रविधिको प्रयोगले उद्यमशीलता र व्यवसाय सञ्चालनमा प्रभावकारिता तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । महासंघमा महिला उद्यमीहरूको ठूलो र देशव्यापी सञ्जाल रहेको उल्लेख गर्दै उहाँले समयअनुकूल नयाँ प्रविधि, ज्ञान र सीप आत्मसात् गर्दै महिला उद्यमीहरूले आफूलाई थप सक्षम र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष श्रेष्ठले प्रविधिको ज्ञान र प्रयोग व्यवसायको विकास तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको महत्वपूर्ण आधार बन्दै गएको बताउँदै सहभागी महिला उद्यमीहरूलाई नयाँ प्रविधिको प्रयोगबाट आफ्नो व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई प्रविधिमैत्री बनाउन यस्ता तालिम महत्वपूर्ण रहेको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै उहाँले महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौंसहित सातै प्रदेशमा क्रमिक रूपमा ‘कोसेली घर’ स्थापना गर्दै लैजाने बताउनुभयो ।

कार्यक्रमको प्रारम्भमा महिला उद्यमी विकास समितिका सभापति सुनिता न्हेम्हाफुकीले स्वागत मन्तव्य व्यक्त गर्दै व्यवसायको क्षेत्रमा प्रविधि र एआईको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा महिला उद्यमीहरूलाई नयाँ प्रविधिसँग परिचित गराउन आवश्यक रहेको बताउनुभयो। उद्यम व्यवसाय सञ्चालनको प्रारम्भिक चरणदेखि उत्पादनको गुणस्तर, बजारीकरण र व्यवसाय विस्तारसम्म प्रविधिको प्रयोगमार्फत महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

महिला उद्यमशीलताको विकास, महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यवसायलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आगामी दिनमा पनि ज्ञान, सीप र प्रविधिमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने महिला उद्यमी विकास समितिले जनाएको छ ।

#नेउवामहासंघ

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ता - श्रम कानून संशोधनलाई रोजगारी र औद्योगि...
21/08/2026

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ता - श्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
https://fncci.org/news/detail.php?i=4525

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग भेट गरी श्रम कानूनको समसामयिक संशोधन, आन्तरिक रोजगारी प्रवर्द्धन, श्रम बजारको माग–आपूर्ति व्यवस्थापन तथा औद्योगिक सम्बन्धका विविध विषयमा छलफल गरेको छ ।

महासंघले श्रम कानून संशोधनलाई बदलिँदो श्रम बजार, औद्योगिक आवश्यकता र मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ । यस्तै महासंघले श्रम कानून लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने, उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने र श्रमिकको अधिकार तथा सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी सन्तुलित र व्यावहारिक हुनुपर्ने धारणा राखेको छ ।

भेटमा अध्यक्ष श्रेष्ठले सरकारले अहिले परिवर्तन, रूपान्तरण र हस्तान्तरणको अभियान अघि बढाइरहेको तथा विभिन्न कानून संशोधनको प्रक्रियामा रहेको सन्दर्भमा श्रम कानूनलाई पनि देशको दीर्घकालीन आर्थिक तथा रोजगारी आवश्यकतासँग जोडेर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपालले प्राप्त गरेको वर्तमान जनसांख्यिक लाभलाई अधिकतम उपयोग गर्दै आगामी १० वर्षमा देशको रोजगारीको अवस्था कस्तो बनाउने भन्ने विषयलाई श्रम कानून संशोधनसँगै हेर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सरकारले आगामी दशकमा १०० बिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको अवस्थामा त्यसका लागि आवश्यक औद्योगिक लगानी, उत्पादन विस्तार र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने गरी श्रम कानूनलाई लगानी तथा रोजगारीमैत्री बनाउनुपर्छ ।”

मन्त्री यादवले मन्त्रालय श्रम ऐन संशोधनको पहिलो चरणको काममा रहेको जानकारी दिँदै मन्त्रालयको प्रारम्भिक काम सम्पन्न भएपछि सम्बन्धित सरोकारवालासँग छलफल अघि बढाउने बताउनुभयो । उहाँले महासंघलाई पनि समानान्तर रूपमा आवश्यक अध्ययन तथा तयारी अघि बढाउन आग्रह गर्दै यस विषयमा छिट्टै महासंघलगायत सरोकारवालालाई छलफलमा बोलाउने जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले श्रम ऐन, २०७४ लगायत श्रमसम्बन्धी कानून संशोधन गर्दा निजी क्षेत्रको व्यावहारिक अनुभव र संस्थागत सुझावलाई समेट्नुपर्ने बताउनुभयो । “श्रम कानून संशोधनलाई केवल कानूनी सुधारका रूपमा होइन, औद्योगिक लगानी, उत्पादन, उत्पादकत्व, रोजगारी सिर्जना र श्रम बजारको दीर्घकालीन रूपान्तरणसँग जोडिएको आर्थिक सुधारका रूपमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।

महासंघले संसदमा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ का सम्बन्धमा बालश्रम उन्मूलनको उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै यसको कार्यान्वयन, उद्योग व्यवसायको अनुपालन तथा अनुसन्धान र दण्ड–सजायका प्रावधानलाई व्यावहारिक तथा कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राखेको छ ।

साथै, एक प्रतिष्ठान, एक आधिकारिक ट्रेड युनियनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी औद्योगिक सम्बन्धमा स्थायित्व, संवाद र उत्पादकत्व अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ ।

मन्त्री यादवले श्रम ऐन संशोधनका क्रममा प्लेटफर्म अर्थतन्त्रसम्बन्धी विषयमा समेत गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिलाई बोलाएर सुझाव लिन समितिलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

आन्तरिक रोजगारी प्रवद्र्धनका विषयमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले देशभित्र रोजगारी सिर्जना गर्न गरिरहेको प्रयासलाई सरकारको रोजगारी नीतिसँग जोड्दै सरकार–निजी क्षेत्र सहकार्यको स्पष्ट फ्रेमवर्क आवश्यक रहेको बताउनुभयो । उद्योगहरूले आवश्यक श्रमिक नपाउने र रोजगारी खोज्नेहरूले अवसर नपाउने अवस्थाबीच श्रम बजारलाई मागमा आधारित बनाउँदै उद्योगको वास्तविक आवश्यकताअनुसार सीप विकास, तालिम तथा रोजगार मिलान प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासंघ रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप परीक्षण तथा प्रमाणीकरणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउनुभयो । आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकहरूको समेत सीप परीक्षण गरी उद्योगसँगको सहकार्यमा पुनःसीप तथा क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । यसका लागि महासंघ मन्त्रालयसँग सहकार्य गर्न सधैं तयार रहेको उहाँको भनाइ थियो ।

रोजगारदाता परिषद्का उपसभापति बाबुकाजी कार्कीले पछिल्लो न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक रहेको बताउँदै हरेक पटक दोस्रो वर्षको अन्त्यतिर पारिश्रमिक निर्धारणको दबाब र तनाव सिर्जना हुने अवस्थाको अन्त्य गर्न नियमित संवाद र पूर्वतयारीसहितको पारिश्रमिक निर्धारण प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका केन्द्रीय सदस्य जूना माथेमाले नेपालमा ठूलो संख्यामा मानिसहरू प्लेटफर्म अर्थतन्त्रमा आबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रका श्रमिकको अधिकार, सामाजिक सुरक्षा तथा जिम्मेवारी स्पष्ट हुने गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । भेटमा महासंघले औद्योगिक विवाद समाधान, श्रम प्रशासनको डिजिटलाइजेशन, सामाजिक सुरक्षा प्रणालीको व्यावहारिक सुधार तथा सरकार–रोजगारदाता–श्रमिकबीचको संस्थागत त्रिपक्षीय संवादलाई थप प्रभावकारी बनाउनुपर्ने विषय पनि उठाएको छ ।

#श्रमतथारोजगार #श्रममन्त्री #नेपालउद्योगवाणिज्यमहासंघ #नेउवामहासंघ

19/08/2026

महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा सल्लाहकार तथा सदस्यहरु मनोनित - कृषिलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नु पर्नेमा जोड
https://fncci.org/news/detail.php?i=4524

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा अघि बढाइने भएको छ । कृषि उद्यम केन्द्रका समितिका सहसभापति, सदस्यहरू तथा सल्लाहकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्न महासंघमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न कृषि उद्यम केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । केन्द्रले किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने प्रभावकारी संस्थागत संयन्त्रका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुभयो । उहाँले उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कृषि उद्यम केन्द्रलाई परिणाममुखी र व्यावसायिक ढंगले अघि बढाउन समितिका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणविना मुलुकको दिगो आर्थिक विकास सम्भव नहुने बताउनुभयो । उहाँले कृषि उद्यम केन्द्रले किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोड्दै कृषि क्षेत्रमा नयाँ उद्यम र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले कृषि उद्यम केन्द्रले मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान तथा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसान र उद्यमीबीच सहकार्य बढाउने तथा स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोग गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ थियो ।

त्यसैगरी महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले कृषि क्षेत्रमा लगानी विस्तारका लागि वित्तीय पहुँच, लगानी सुरक्षा र अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न केन्द्रका कार्यक्रम स्पष्ट लक्ष्य र परिणामका आधारमा सञ्चालन हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट मुक्त गरी व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको कुल जनसंख्याको करिब आधा हिस्सा कृषि क्षेत्रमा संलग्न रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले कृषि क्षेत्रको रूपान्तरणविना समग्र आर्थिक समृद्धि सम्भव नहुने बताउनुभयो ।

उहाँले उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ र निर्यातसम्मको पूर्ण मूल्य शृङ्खला विकास गरी किसानलाई बजारसँग र उत्पादनलाई उद्योगसँग जोड्नुपर्ने बताउनुभयो । कृषि–उद्योग समन्वय विस्तार, खाद्य प्रशोधन, कोल्ड चेन, भण्डारण तथा कृषि पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा कृषि लगानी सम्मेलनजस्ता पहल अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवप्रसाद घिमिरे नेतृत्वको सो समितिको सहसभापतिमा राजेशभक्त श्रेष्ठ तथा सहित विभिन्न व्यक्तिहरुलाई समितिको सदस्य तथा सल्लाहकारको मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । वि.सं. २०४८ मा स्थापना भएको कृषि उद्यम केन्द्रले तीन दशकभन्दा बढी समयदेखि कृषि क्षेत्रमा नीतिगत पैरवी, उद्यमशीलता विकास तथा बजार प्रवद्र्धनमा काम गर्दै आएको छ । नयाँ कार्यसमितिले केन्द्रलाई कृषि उद्यम, लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारबीचको सशक्त सेतुका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।

Address

Sahid Shukra Marg, Teku
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 18:00
Tuesday 11:00 - 18:00
Wednesday 11:00 - 18:00
Thursday 11:00 - 17:30
Friday 11:00 - 15:00
Sunday 11:00 - 17:30

Telephone

+97715362061

Alerts

Be the first to know and let us send you an email when FNCCI Commodity Council posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FNCCI Commodity Council:

Shortcuts

Share