03/03/2023
आदरणीय शेयरधनी महानुभावज्यूहरूमा नमस्कार !
हाम्रो साझा सपनाको यस गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका प्रायः हामी सबैजसो शेयरधनीहरू कुनै साभ्रान्त (Elite) बर्गका हैनौं,हामी गरीखाने बर्गका मानीसहरू हौं।
हाम्रो रगत,पसिनाको कमाईबाट आर्जन गरेको रकम तपाईं हामीले तात्कालिक हाम्रो ग्रुप अफ कम्पनीमा लगानी गरेका थियौं।एउटा दीर्घकालीन भीजनको साथ केही गरौं र केही गर्न सकिन्छ भन्ने अठोटका साथ त्यो लगानी गरिएको थियो। तर जे सोचिएको थियो त्यो भएन। हुन सकेन। किनकी हाम्रा स्वप्न सम्राटहरूनै हाम्रा सपनाका 'सौदागर'भएर निस्किए। जे जे भयो त्यो सबैमा बिदितै छ।
पछिल्लो समय,नयाँ कार्यसमिति चुनिएर आएलगत्तै हामीले हाम्रो संस्थाको सम्पत्ती हिनामिना गर्नेहरूसंग सकेसम्म ब्यवहारिक रूपमै,त्यो नसक्दा कानूनी रूपमै त्यसको निरूपण गर्ने गराउने प्रतिबद्धता जाहेर गरेर आएका थियौं। हामी हाम्रो कम्पनी र शेयरधनीहरूको सामूहिक हितरक्षा प्रती सदैव सचेत रहेको कुरा,कामको आधारमा पुनः स्मरण गराउन चाहन्छौं ।
संस्थाको सम्पत्ती हिनामिना गर्नेहरूसंगको यो कानूनी लडाईं कम्ती पेचिलो थिएन। प्रतिबादीहरूले एकातिर, राजनैतिक दल परस्त सत्ता र शक्तिको आडमा निरन्तर पेशी सारेर मुद्दाको फैसला नै हुन नदिई अनन्त कालसम्म मुद्दा धकेलिरहने र आफ्नो आर्थिक र कानूनी अपराधको सजायबाट उम्किरहने 'नटवरलाल शैली' अपनाएका थिए भने अर्कोतर्फ विभिन्न नाटक-नौटंकी रच्दै कतिपय शेयरधनीहरूलाई उल्टो पाठ पढाउँदै कुहिरोको काग बनाउँदै आएका थिए। तर अहिले आएर सारा चिजको पर्दाफास भएको छ। कुकृत्यहरू सतहमा आएका छन् ।
आदरणीय शेयरधनी महानुभावज्यूहरू !
यस गोर्खा ग्रुप अफ कम्पनी लि. को जाहेरीले वादी नेपाल सरकार भएको सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्धामा यहि मिति २०७९ फल्गुण ४ गते श्री काठमाडौं जिल्ला अदालतबाट बिपक्षी पुष्पराज पौडेल र गोकुल श्रेष्ठलाई जाहेरी दरखास्त तथा अभियोग माग दाबी बमोजिम नै कसुरदार ठहर्ने गरि आज मिति २०७९/११/१८ गते सजाय निर्धारणको पेशी तोकिएकोमा देहाय बमोजिम सजाय मुकर्रर गरिएको ब्यहोरा यस गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका कानूनी सल्लाहकार श्री हुमबहादुर खत्रीज्यूले जानकारी गराउनु भएको ब्यहोरा अनुरोध छ।
पुष्पराज पौडेल
- कैद १ वर्ष
- कम्पनी लाई तिर्नुपर्ने बिगो रु: ५,४४,५०,३५२/- (अक्षरेपी पाँच करोड चौवालिस लाख पचास हजर तिनसय बावन्न मात्र)
- जरिवाना रु १०,०००/-
गोकुल श्रेष्ठ
- कैद १ वर्ष ,
- कम्पनी लाई तिर्नुपर्ने बिगो रु ५,५६,७९,३७९/-(अक्षरेपी पाँच करोड छप्पन्न लाख उनानअसी हजार तीन सय उनानअसी मात्र)
- जरिवाना रु १०,०००/
[अदालतको सम्पूर्ण लिखित विवरणहरू आवश्यकताका आधारमा यसै पेज मार्फत सार्वजनिक गरिने ब्यहोरा अनुरोध गरिन्छ। धन्यवाद]