27/08/2026
यही भदौ १० गते लेन्दी खोलामा आएको बाढीले रसुवागढी हुँदै टिमुरे, बेत्रावती, त्रिशूली, धादिङ लगायत चितवन र धेरै ठाउँमा पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ; सिङ्गो देश दुखेको छ।
यस्तो विपत्तिको घडीमा पनि केही अवसरवादीहरू हाबी भइसकेका छन्। कतिपय तथाकथित इन्फ्लुएन्सरहरू आफ्नो च्यानल र आईडी ‘ग्रो’ गराउन लागि परेका छन् भने रकम उठाउन उद्यत देखिन्छन्। लाग्छ, यिनीहरूका लागि योभन्दा ठूलो अवसर अरू केही होइन।
यदि तपाईंहरू जोकोही पनि वास्तवमै सहयोग गर्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा वास्तविक प्रभावितहरूलाई वा नेपाल सरकारको आधिकारिक खातामा मात्र कुनै माध्यमबाट सहयोग गर्नुहोस्।
आफूले गरेको सहयोगको सदुपयोग वा दुरुपयोग के भइरहेको छ भन्ने कुराको तथ्याङ्क माग गरेर शंकास्पद लागेमा खबरदारीसमेत गर्न सक्नुहुनेछ।
यस्तो संकटको घडीमा अवसर लुट्ने र पीडितको नाममा सहयोग उठाई अनियमितता गर्नेहरू क्रूर अपराधी हुन्। तिनीहरूलाई अनुसन्धानको दायरामा ल्याई कडाभन्दा कडा कारबाही होस्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल
https://opmcm.gov.np/content/586/heartfelt-appeal/