31/01/2026
फाइनान्स कम्पनीको वित्तीय विवरण - धेरै नाफा कमाउनेमा मञ्जुश्री,
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेप्सेमा सूचीकृत भएका १५ वटा फाइनान्स कम्पनीको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा धनात्मक बनेको हो ।
गत आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा फाइनान्स कम्पनीहरुको नाफा ऋणात्मक रहेको थियो । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको कुल नाफा ३२ करोड ७७ लाख रुपैयाँल धनात्मक बनेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा फाइनान्सक कम्पनीहरु ७३ करोड २ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेका थिए । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ वटा वित्त कम्पनीमध्ये ६ वटा कम्पनीहरुले नोक्सानी व्यहोरेका थिए । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नोक्सानीमा रहेका फाइनान्स कम्पनीको संख्या ३ वटा रहेको छ । अन्य १२ वटा कम्पनीको नाफा धनात्मक नै रहेको छ ।
१५ वटा फाइनान्स कम्पनीमध्ये सबै भन्दा धेरै नाफा कमाउने कम्पनीमा मञ्जुश्री फाइनान्स रहेको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १३ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । त्यस्तै यो अवधिमा गुडविल फाइनानसले ११ करोठ १७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा गोर्खाज फाइनान्सको नाफा ६ करोड १६ लाख, सेन्ट्रल फाइनानसको ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सको ३ करोड २० लाख, पोखरा फाइनान्सको २ करोड ९५ लाख, बेस्ट फाइनान्सको १ करोड ७४ लाख, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको १ करोड ६८ लाख रुपैयाँ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन् ।