08/12/2024
रसुवागढी हाइड्रोपावर कम्पनी लि.बाट प्रबर्धित १११ मे.वा. जडित क्षमताको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य २०७०/१०/२१ बाट शुरु भएको थियो। २०७२ को भूकम्प, नाकाबन्दी, हरेक बर्षको बाढी, पहिरो लगायत सर्ज टैंकको पोर्टलमा सुख्खा पहिरो गई सुरुङमा रहेका कामदारको सुरक्षा चुनौति आदिलाई पार गर्दै अघि बढेको आयोजनाले टेलरेस माथिको सतहमा भ्वाङ (Sink Hole) को समस्या पनि व्यहोर्नु पर्यो। अत्यन्त कमजोर भौगर्भिक अवस्थाको टेलरेस सुरुङमा धेरै अध्ययन अनुसन्धान, छलफल हुँदै सुस्त गतिमा निर्माण गर्दै गर्दा कोभिड-१९ को माहामारीको सामना गर्नु पर्यो भने मेलम्ची बजार डुबाएको दिन अर्थात् २०७८/०३/०१ मा आएको भिषण बाढी (Flash Flood) टेलरेस सुरुङ हुँदै भूमिगत विद्युतगृहमा पसि जडित उपकरणहरु डुबानमा परेपछि पुनः समस्यामा पर्यो। तत्पश्चात पुनः नयाँ उपकरणहरु पैठारी गरि उपकरण जडान शुरु गरिएको थियो भने ५ बर्षमा जम्मा २७ वटा टावरको मात्र जग निर्माण गरि टावर पार्टस आयात गर्न पूर्व गर्नुपर्ने टावर परीक्षण समेत गर्न नसकि अत्यन्त कमजोर कार्य सम्पादन गरेको कारण १० कि.मी. लामो १३२ के.भी. प्रसारण लाईन निर्माणका ठेकेदारको ठेक्का अन्त्य गरी पुनः बोलपत्र आह्वान गरि २०७९/०८/१५ मा नयाँ ठेकेदारसँग सम्झौता गरि उक्त कार्य सम्पन्न गरियो। २०८०/०२/२६ मा पानी भरेर बाँध तथा बाँधस्थलका सम्पूर्ण गेटहरुको सफल परीक्षण गरिएको थियो भने पछिल्लो कार्य तालिका अनुसार २०८०/०९/१५ मा सुरुङमा पानी पठान्तरण गर्ने र १३२ के.भी. Back Charge गर्ने तालिका रहेकोमा २०८०/१०/०३ बाट सुरुङमा पानी पठान्तरण गरि २०८०/१०/२१ मा सबै परीक्षण सम्पन्न गरियो। सो समय सम्ममा पनि राष्ट्रिय प्रसारण ग्रीडबाट १३२ के.भी. Back Charge उपलब्ध हुन नसकेकोले लोड परीक्षण वाहेकका Excitation, SCC, OCC लगायतका Wet commissioning कार्य गरि २०८१/०२/०२ बाट इलेक्ट्रोमेकानिक कार्यका ठेकेदारले आफ्नो commissioning team फिर्ता लग्यो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दिपक खड्का ज्यूको विशेष पहल कदमीले २०८१/०७/२५ बाट आयोजनाको प्रसारण लाईन राष्ट्रिय ग्रीडमा जोडिन सफल भयो। तत्पश्चात २०८१/०८/०५ मा एउटा युनिटबाट विद्युत उत्पादन गरी सफलतापूर्वक राष्ट्रिय ग्रीडमा प्रसारण गरियो। आज २०८१/०८/२२ गते सबै युनिटहरुको उत्पादन परीक्षण सफलापूर्वक सम्पन्न भएको छ र सिघ्र व्यापारिक उत्पादनको मिति घोषणा हुने पर्खाईमा रहेको छ।
आयोजनालाई यो सफलता प्रदान गर्न अहोरात्र खटिने सम्पूर्ण कर्मचारी साथीहरु, प्रबन्ध निर्देशक छवि गैह्रे, कम्पनीका सञ्चालकज्यूहरु, ठेकेदार तथा परामर्शदाता, ने.वि.प्रा.का बिभिन्न कार्यालयहरु, चिलिमे जलविद्युत कम्पनी, कर्मचारी सञ्चय कोष, स्थानीय निकाय, राजनैतिक दल, सुरक्षा निकाय, जिल्ला प्रशासन, वन, लाङटाङ राष्ट्रिय निकुञ्ज, नापी, मालपोत, सञ्चारकर्मी तथा पत्रकारहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। - आयोजना प्रमुख