07/08/2026
बनियनीमा निशुल्क आँखा जाँच तथा जनरल स्वास्थ्य शिविर सम्पन्न, ३४७ जना लाभान्वित
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बिर्तामोड क्लस्टर अन्तर्गत रहेको शाखा कार्यालय बनियानीको आयोजनामा झापाको कचनकबलमा एक दिने निशुल्क आँखा जाँच तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कचनकबल गाउँपालिका वडा नं. ६ स्थित लक्ष्मी क्याम्पस बनियानीमा आज मिति २०८३ साल श्रावण २२ गते सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरबाट ३४७ जना सर्वसाधारण तथा स्थानीय बासिन्दाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन्।
कटहरी–२, हल्दीबारी (मोरङ) स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको सह-आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ११ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरूको टोलीले बिरामीहरूको आँखा परीक्षणका साथै जनरल स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र औषधि वितरण गरेको थियो।
झापा जिल्ला बिर्तामोड क्लस्टरका जिल्ला प्रमुख मनोज कुमार मण्डलका अनुसार ग्रामीण तथा पहुँचबाहिर रहेका स्थानीय बासिन्दा, विशेष गरी महिला, वृद्धवृद्धा तथा विपन्न वर्गलाई घरआँगनमै सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरबाट स्थानीय महिला तथा बासिन्दाहरूले निकै ठूलो राहत र सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरिएको यस प्रकारका स्वास्थ्य शिविरले स्थानीयस्तरमा स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै विपन्न समुदायलाई प्रत्यक्ष सहयोग पुगेको भन्दै स्थानीयवासीले संस्थाप्रति आभार व्यक्त गरेका छन्।